पौष १२ । विराटनगर : प्रदेश नम्बर १ को मन्त्रिपरिषदले आउँदो माघ ७ गते दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको छ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले मन्त्रिपरिषदको बैठकले आगामी माघ ७ गते प्रदेश सभाको बैठक बोलाएको पुष्टि गरे।
मुख्यमन्त्री शेरधन राईले आइतबार ११ बजे अविश्वासको प्रस्ताव दर्ता हुनु अगाडि बिहान ७ बजे नै मन्त्रिपरिषदको बैठक गरेर प्रदेश सभाको बैठक बोलाएका हुन्।
संविधानअनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि १५ दिनभित्र सभामुखले प्रदेश सभाको बैठक बोलाउनुपर्छ। तर, सभामुखले बोलाउनुभन्दा अगाडि नै मन्त्रिपरिषद्को निर्णय आएको हुँदा मुख्यमन्त्री शेरधन राईको सरकार थप १० दिन लम्बिने भएको छ।
‘प्रदेश सभामा मुख्यमन्त्रीज्यूले अविश्वासको प्रस्तावको सामना गर्नुहुनेछ,’ प्रेस संयोजक सुवेदीले भने, ‘यो नियमित अधिवेशन हो।’