कर्णाली प्रदेशमा एन्टिजेन विधिबाट कोरोना संक्रमणको परीक्षण सुरु


लेखक : Public Suchana      २४ पुष २०७७, शुक्रबार ०९:२२ मा प्रकाशित     
कर्णाली प्रदेशमा एन्टिजेन विधिबाट कोरोना संक्रमणको परीक्षण सुरु

काठमाडौ, पौष २४ ।  कर्णाली प्रदेशमा कोरोना संक्रमणको पहिचानका लागि एन्टिजेनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा वीरेन्द्रनगर बजारमा क्षेत्रमा एन्टिजेन विधिबाट कोरोना संक्रमणको परीक्षण थालिएको छ ।

वीरेन्द्रनगर नगरपालिका– ६ मा एन्टिजेन विधिबाट परीक्षण सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतन वाग्लेले बताए । ‘हालसम्म तीन सय ५० वटा परीक्षण गरिएको छ,’ उनले भने, ‘त्यसमध्ये पाँचवटामा पजिटिभ रिपाेर्ट आएको छ ।’

वीरेन्द्रनगर नगरपालिका– ६ मा तिन हजार नमुना संकलन गर्ने लक्ष्य राखिएको प्रमुख वाग्लेले बताए । ‘जनघनत्व बढी भएका क्षेत्रमा एन्टिजेनमार्फत परीक्षण गर्ने मन्त्रालयको निर्देशनअनुसार सक्रिय संक्रमितको नजिकमा रहेकाको मात्रै परीक्षण गरिनेछ,’ उनले भने, ‘पिसिआर परीक्षणका लागि नमुना लिएजस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिन्छ । किटमा राखेर आधा घन्टामै रिपोर्ट प्राप्त गर्न सकिन्छ ।’

पछिल्लो चरणमा नागरिकहरूले कोरोना परीक्षणमा खासै चासो नदेखाएको प्रमुख वाग्लेले बताए । ‘नागरिकहरूले पछिल्लो चरणमा कोरोना परीक्षण गर्न खासै वास्ता गरेका छैनन्,’ उनले भने, ‘अहिले कोरोना परीक्षण गर्न आउनेको संख्या पनि घट्दै गएको छ ।’

Copy link
Powered by Social Snap