उखु किसान : सरकारले हामीसँग फेरि झुट बोल्यो


लेखक : admin      ६ माघ २०७७, मंगलवार ०८:०२ मा प्रकाशित     
उखु किसान : सरकारले हामीसँग फेरि झुट बोल्यो

काठमाडौ, माघ, ६ । चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद फेरि गुज्रिएको छ । सरकारले बक्यौता दिलाइदिने बाचा गरे पनि तोकेको समयमा उद्योगबाट सबै बक्यौता रकम नपाएको भन्दै उखु किसानले सरकारले आफूहरूसँग फेरि झुट बाेलेकाे गुनासो गरेका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार केही मिलहरुले भुक्तानी दिन सुरु गरेको भए पनि तोकिएकै समयमा सबै रकम भुक्तानी गरिदिन सरकारले गरेको सहमति पालना भएको छैन । २१ दिनभित्र किसानले दाबी गरेको बक्यौता भुक्तानी गर्ने सहमतिपछि पुस १३ गते किसानले दुई साता लामो काठमाडौं केन्द्रित आन्दोलन स्थगित गरेका थिए ।

‘मन्त्रालयमा सोध्दा सबै रकम भुक्तानी निश्चित भएको जवाफ आउँछ तर ३ साता बित्दासमेत किसानको खातामा सबै पैसा आउँदैन’ संघर्ष समितिका संरक्षक मिश्रले भन्नुभयो, ‘सरकारले पैसा नदिलाएर यस पटक पनि झुट बोल्यो ।’

उद्योगीले दिएको तथ्यांकका आधारमा सरकारले किसानले भुक्तानी पाएको प्रचार गरेर झुट बोलेको उखु किसान संघर्ष समितिको ठहर छ । संघर्ष समितिका सचिव हरिश्याम राय यादव भन्छन्- ‘करोडौं रकम किसानले पाएको प्रचार गरेर सरकारले उद्योगीको बचाउ गरे पनि तर किसानले सबै बक्यौता पाउन सकिरहेका छैनन् ।’

संघर्ष समितिका अनुसार २१ दिनभित्र सबै रकम भुक्तानी नभए २२ औं दिनबाट उद्योगीको जायजेथा उद्योग मन्त्रालयले जफत गरेर भए पनि किसानलाई रकम उपलब्ध गराउने मौखिक सहमति मन्त्रालय र किसान प्रतिनिधिबीचभएको थियो । उद्योगीले सबै रकम भुक्तानीको सुनिश्चितता मन्त्रालयमार्फत गरिएको दाबी गरेका छन् भने किसान प्रतिनिधिले त्यस्तो नदेखिएको बताएका छन् ।

Copy link
Powered by Social Snap